कञ्चनपुरका बन्तरिया शिविरका बाढीपीडितको सोह्र वर्षसम्म पनि भएन पुनः स्थापन

कञ्चनपुर- हावाहुरी चल्ने मौसम सुरु भए सँगै शुक्लाफाँटा नगरपालिका-१२ बन्तरिया शिविरका ६४ वर्षीय वासुदेव रानालाई रातिको समयमा निन्द्रा पर्न छाडेको छ । वनको छेउमै रहेको उनको झुपडीमा हावाहुरी चलेपछि रुख खसेर थिच्ने डरले सताउन थालेको हो । ‘विस्तारै हावाहुरी चल्ने मौसम सुरु भएको छ । बैशाख/जेठमा आउने हावाहुरीले रुखहरु नै ढाल्ने गरेका छन्’, रानाले भने, ‘कहिले काहीँ रुखका हाँगा झुपडी माथि नै खस्ने गरेका छन् ।’

रुखको हाँगा लागेर शिविरका बासिन्दा घाइते भइसकेका उल्लेख गर्दै उनले मानवीय क्षति हुन नदिन झुपडी छोडेर खुला आकासमुनि बस्नुपर्ने बाध्यता भएको बताए ।

Navadurga sun

राना सहित शिविरमा बसोबास गर्ने परिवारको साविक देखतभूली गाँउ विकास समितिमा रहेको जग्गा वनहरा बाढीले लगेपछि डेढ दशक देखि वन क्षेत्रमा बस्दै आएका छन् । विसं २०६४ को बाढीले घरजग्गा सबै बगाए पछि सुकुम्बासी भएर वन क्षेत्रमा बस्दै आएको रानाको भनाइ छ । ‘नदीले जग्गा बगाएको ठाउँ अहिले बगर बनेको छ’, उनले भने, ‘जग्गाको मालपोत बुझाउँदै आएका छौँ । जग्गा बगरमा परिणत भएकाले बालुवानै बालुवा छ, खेती लगाउन सकिएको छैन ।’

घरसँगै कमाइ खाने जग्गा नदीले बगाएर बेघर पारेपछि शिविरका अधिकांश बासिन्दाले दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । केहीले छिमेकी गाउँमा अधिया लगाएर परिवारको भरणपोषणको व्यवस्था मिलाएका छन् । बाढीले बेघर पारेपछि अर्को व्यवस्था नहुन्जेल सम्मका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारीको निर्देशनमा बाढीपीडित परिवारलाई वन क्षेत्रमा अस्थायी रुपमा बस्ने व्यवस्था मिलाइएको थियो ।

बाढीबाट विस्थापित ३२ परिवार पहिले शिविरमा बस्दै आएका थिए । जीविकोपार्जन गर्न गाह्रो भएपछि केही परिवार भारततर्फ लागेका, केहीले अन्यत्र अधियामा जग्गा कमाउन गएका स्थानीय बताउँछन् । हाल शिविरमा १९ परिवार मात्रै बस्दै आएका छन् । पुनः स्थापनको व्यवस्था मिलाइ दिनका लागि शिविरका बासिन्दाले नगरपालिका देखि काठमाडौँ सम्म अनुरोध गर्दै आए पनि हाल सम्म सुनुवाइ भएको छैन ।

‘चुनाव अघि नेताले शिविरमै पुगेर समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थिए”, स्थानीय घुम्मन रानाले भने, ‘चुनाव जितेर काठमाडौँ पुगे पछि भने कहिल्यै शिविरमा पुगेनन्, नत प्रतिबद्धता नै पूरा गरे ।’ उनले कर्जा मागेर काठमाडौँ सम्म तीन पटक पुगेर पुनःस्थापनाको माग गर्दा पनि हाल सम्म सुनुवाइ नभएको बताए ।

‘आफन्त सँग कर्जा मागेर तीन पटक पुग्यौँ । पुनः स्थापन गराउने प्रतिबद्धता मात्र भयो । सोह्र वर्ष देखि रुख मुनि बस्दै आएका छौँ, हाल खबर सोध्ने पनि कोही छैनन’, स्थानीय राज कुमार रानाले बताए । बाढीपीडित भएको प्रमाण वडा देखि जिल्ला सम्म भए पनि सरोकारवाला निकायको बेवास्ताका कारण आफूहरु मर्कामा परेको उनको भनाइ छ । ‘जिल्लाका सबै बाढीपीडित मिलेर केही वर्ष अघि सडक आन्दोलन गरेपछि जिल्ला प्रशासनले लगत लिने सम्मको कार्य गरेको थियो’, राज कुमारले भने, ‘पुनः स्थापन गराउँछन की भन्ने आशा जागेको थियो, लगत पछि कुनै कार्य अगाडि बढ्ने ।’ परिचय पत्र सम्म अहिलेलाई दिए हुन्छ भनेर माग गरेपनि त्यो पनि नपाइएको उनको भनाइ छ ।

लालझाडीका बाढीपीडित परिवारलाई स्थानीय तहको प्रयासमा पुनः स्थापनको कार्य गरिए पनि यहाँको अवस्था बुझेर पनि चासो नदिँदा कष्टकर जीवन बिताउनु परेको भुरी रानाले बताए । उनका अनुसार दातृ निकाय सँग अनुरोध गरेपछि शिविरमा खानेपानीका लागि तीन वटा नल्का (धारा) गाडीएका थिए । ‘एउटा नल्का माथि रुख खसेर टुटयो, अर्को नल्काबाट पानी नै आउन बन्द भयो’, उनले भने, ‘तेस्रो नल्काबाट थोरै मात्रै पानी आउने भएकाले सबैलाई पिउनका लागि पुग्दैन ।’

विगत सम्झदैँ महादेव रानाले भने, ‘साँझ पर्नै आँटेको थियो, पानी पर्ने क्रम जारी थियो, वनहरा नदीमा नसोचेको ठूलो बाढी आयो, छिमेकीले बाढी बस्तीमा छिरिसकेकाले भाग्नका लागि ठूलो स्वरले कराउन थाले । जे बोक्न सक्थ्यौँ, त्यो सामान हातमा समातेर सुरक्षित क्षेत्र भनेकै वन थियो, त्यस तर्फ भागेर ज्यान जोगायौँ, कमाउँदै आएको १५ कठ्ठा जग्गा नदीमा बग्यो, जग्गा बगाउने क्रममै घर पनि बगारले लग्यो ।’ घर जग्गा सबै नदीले बगाए पछि सुकुम्बासी भएर वन क्षेत्रमा बस्दै आएको उनले भने ।

‘पहिला जग्गाको मालिक थियौँ । खेतमा लगाएको अन्नले वर्ष भरि खान पुगेर बेच्ने पनि पर्दथ्यौँ, अहिले अरु सँग दुई छाकका लागि अन्न माग्नु पर्ने अवस्थामा पुगेका छौँ’, महादेवले भने । ‘गणतन्त्र आएकाले कोही भोको हुदैन, सबैले खान, लगाउन र सुरक्षित घरमा बस्न पाउँछन् भन्थे”, स्थानीय रामसहाय रानाले भने, ‘विस्थापनमा परेपछि सहँदै आएको कष्ट झन बल्झिदै गए पनि सोधपुछ गर्ने कोही छैनन् ।’ शिविरमा बस्दै आएको ठाउँमा जग्गा नापजाँच गरी घरवासको व्यवस्था मिलाइदिन बाढीपीडित परिवारको माग छ ।

बाढीपीडित परिवारले भने, ‘परिवार पाल्ना लागि मजदुरी नै गरौँला बस्नका लागि सुरक्षित आवास बनाइदिनुपर्‍यो।’ हावाहुरी, वर्षातको पानी नचुहिने, सर्प, विच्छी लगायत जीवजन्तुको भय नहुने गरी आवास निर्माण गरी स्वामित्व प्रदान गर्न बाढीपीडित परिवारले सम्बन्धित निकायसँग माग गरे ।वडाध्यक्ष नवलसिंह रले बाढीपीडित परिवारको पुनः स्थापनको कार्य वडास्तरबाट गर्न सम्भव नभएकाले सङ्घ र प्रदेश सरकारले पहल गर्नुपर्ने बताए । ‘वडाको थोरै बजेटले पुनः स्थापन गर्न सकिदैन’, उनले भने, ‘जग्गाको व्यवस्थापन गर्नका लागि नीतिगत निर्णय चाहिन्छ ।

त्यो सबै पूरा गर्न नगरपालिका देखि सङ्घ सरकारले चासो देखाउनु पर्छ।’ प्रदेश तथा सङ्घीय सरकारलाई पुनःस्थापनाका लागि आफ्नो तर्फबाट पहल गर्ने उनले बताए । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...