अत्तरिया- कैलालीमा आत्महत्या गर्ने बालबालिकाको संख्या बढ्दै गएको छ । माघ २ मा कैलालीको गोदावरी नगरपालिका–३ का १० वर्षीय बालक आर्यन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परे । श्रेष्ठ गोदावरी स्थित घरमा आफू सुत्ने कोठाको पंखामा स्कुल पोशाख मै झुण्डिएको अवस्थामा भेटिएका थिए ।
बुबाले दुई विवाह गरेकोमा श्रेष्ठ जेठी आमाबाट जन्मिएका थिए । उनको दुवै आमाबाट ६ जना सन्तान छन् । प्रहरीका अनुसार श्रेष्ठले झुण्डिएर आत्महत्या गरेको दिन उनी घरमा एक्लै थिए । बुवा कहिले कही मात्र आउने र आमा छोरीहरूलाई आफैसँगै लिएर चितवन माईती घर गएका बेला घटना भएको प्रहरीले जनाएको छ ।
‘बुवाले दुई विवाह गरेका रहेछन् । त्यो कारण आमाबुवाबाट पाउनुपर्ने स्नेह, हेरचाह कम पाएको जस्तो देखिन्छ,’ इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बहादुर बरालले भने, ‘घटना भएको दिन मृतक एक्लै घरमा रहेछ । आमाबुवाको कलह, उचित हेरचाहको अभावमा एक्लोपन महसुस गरेर आत्महत्या गरेको जस्तो देखिन्छ ।’
बरालका अनुसार ४ कक्षामा पढ्ने मृतक श्रेष्ठ अध्ययन गर्ने विद्यालयले वर्ष भरीमा दुई महिना पनि हाजिर नभएको कारण देखाउँदै परीक्षा दिन नपाउने भनेको पनि पाइएको छ । एकातिर घरपरिवारको उचित हेरचाहको अभाव र अर्कोतिर वार्षिक परीक्षा दिनबाट वञ्चित भएपछि आवेशमा आएर आत्महत्या गरेको देखिएको बताउँदै बरालले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिए । प्रहरीका अनुसार श्रेष्ठ मात्र होइनन् पछिल्लो समय कैलालीमा बालबालिकाले आत्महत्या गर्ने क्रम बढ्न थालेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उसको कार्य क्षेत्रमा पर्ने गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षको ७ महिनामा १५ वर्ष मुनिका ६ जना बालबालिकाले आत्महत्या गरेका छन् । २७ कात्तिकमा गौरीगंगा नगरपालिका–५ का १३ वर्षीय विकास कामीले झुण्डिएर आत्महत्या गरे । मानसिक स्वास्थ्यमा समस्या रहेका कामीले बुवाले कपाल बिगारेको भन्दै आत्महत्याको बाटो रोजेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
३१ भदौमा गोदावरी नगरपालिका–१ का १२ वर्षीय मोहित बिकले मोबाईल चलाउन नदिएको झोकमा झुण्डिएर आत्महत्या गरिन् । त्यो भन्दा अघि २२ साउनमा गोदावरी नगरपालिका–१० की १५ वर्षीया रेखा साउँदले पनि झुण्डिएर आत्महत्या गरेकी थिइन् । सानै उमेरमा बुबाको मृत्यु भएपछि टुहुरो भएकी रेखा दिदीको घरमा बसेर पढ्दै आएकी थिइन् । उनले एक्कासी किन आत्महत्या गरिन् ? भन्ने कुरा खुल्न नसकेको प्रहरी बताउँछ ।
‘मुख्यगरि व्यस्त जीवनशैली र पारिवारिक कलह जस्ता कुराले आमाबुवाले बालबालिकालाई उचित हेरचाह गर्न नसक्नु, मोबाइल लगायतका प्रविधिमैत्री उपकरणको प्रयोग बढ्नु, शैक्षिक असफलता र रिसालु स्वभावले बच्चाहरूले आत्महत्याको बाटो रोजेको अनुसन्धानले देखाएको छ,’ प्रहरी नायब उपरीक्षक बरालले भने । बालबालिकालाई निगरानीमा प्रविधियुक्त उपकरण चलाउन दिने, उचित हेरचाह, मायामोह गर्ने, यातना तथा कुटपिट जस्ता कार्य अभिभावकले नगरेमा आत्महत्याबाट उनीहरूलाई जोगाउन सकिने उनी बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको हालसम्म समेत गरेर १५ वर्ष मुनीका ३१ जना बालबालिकाले आत्महत्या गरेका छन् । उनीहरु मध्ये १० जना बालक र २१ बालिका रहेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४ बालक र ६ बालिका गरि १० जना, आर्थिक वर्ष २०७९/०८० मा २ बालक र १० बालिका गरेर १२ र चालु वर्षको हाल सम्म ४ बालक र ५ बालिका गरेर ९ जनाले आत्महत्या गरेका छन् । त्यसमा गोदावरी र गौरीगंगा नगरपालिकाका मात्र ६ बालबालिका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदम बहादुर बिष्टले विभिन्न कारणले बालबालिकामा आत्महत्या गर्ने दर बृद्धि हुँदै गएको बताए । शैक्षिक असफलता, आमाबुवाको बहुविवाह, कुलत, अभिभावकको हेरचाहको अभाव जस्ता कारणले बालबालिकाले आत्महत्या गर्ने गरेको पाइएको उनी बताउँछन् ।
‘अध्ययन र अन्य काम प्रतीको असफलता, पारिवारिक वातावरण, बहुविवाह, उचित पालनपोषण र हेरचाहको अभाव, कुलत, अभिभावकको रेखदेख नहुनु बेरोजगार, वैदेशिक रोजगारी, प्रेम सम्बन्ध जस्ता कारणले बालबालिकाले आत्महत्या गर्ने गरेको देखिन्छ,’ एसपी बिष्टले भने, ‘उनीहरूको उचित रेखदेख र नियन्त्रण गर्ने, कुलतमा फसेकाहरूलाई पुनःस्थापना केन्द्रमा राख्ने, सामाजिक आचरण सुधार गर्ने, अभिभावकले स्वदेशमै रोजगारी गर्ने गरेमा न्यूनीकरण गर्न सकिन्छ ।’
नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर गणेश खड्का पारिवारिक तथा व्यक्तिगत कारणले बालबालिकामा डिप्रेसन बढ्दै गइरहेकाले त्यसैले आत्महत्या गर्ने सोचको विकास गर्ने गरेको बताउँछन् । खासगरि बालबालिकाहरूले आफूभित्रको तनावलाई व्यक्त गर्न नसक्ने हुँदा पनि यो दर वृद्धि भएको उनको भनाई छ ।
‘बच्चाहरूमा घर वा स्कुलमा विभिन्न किसिमका तनावले डिप्रेसन गरेको हुन्छ । पारिवारिक कलह, झगडा, आर्थिक अभाव, प्रेम सम्बन्धमा धोका, सानैमा लागूऔषध दुर्व्यसनीमा फस्दै गएको देखिन्छ,’ खड्काले भने, ‘बच्चाले तनाव व्यक्त गर्न नसक्ने, अभिभावकले पनि थाहा नपाउँदा झुण्डिने, विष सेवन गरेर आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ ।’
बालबालिकाको आत्महत्याको दरलाई न्यूनीकरण गर्न चुनौतीपूर्ण भएपनि सबैले आ–आफ्नो पक्षबाट प्रयास गर्न जरुरी रहेको खड्काले बताए । ‘यो देशव्यापी बढ्दै गएको छ । न्यूनीकरण निकै चुनौतीपूर्ण छ तर तत्काल सचेतना जगाउने काम गर्न सकिन्छ,’ खड्काले भने, ‘बच्चाको डिप्रेसन कसरी पहिचान गर्ने भनेर विद्यालयमा शिक्षक र अभिभावकलाई तालिम दिने, बालबालिकालाई सचेत गराउने, कुराहरू लुकाएर बस्नु हुँदैन भन्ने सन्देश दिन सकिन्छ ।’