धनगढी- सुदूरपश्चिममा ठगी र आपराधिक विश्वासघात हुने गरेको पाइएको छ । ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा १४ जना विरुद्ध उजुरी नै परेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को भाग २ को परिच्छेद २१ मा ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्सटर्सन सम्बन्धी विभिन्न कसुरजन्य कार्यलाई अपराधिकरण गरि कसुर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ ।
आपराधिक लाभ सम्बन्धी कसुरलाई संगठित अपराध निवारण ऐन २०७० को दफा ८ मा समेत अपराधिकरण गरि सजायको व्यवस्था गरिएको छ । कसैको व्यवसायमा गैरकानुनी तरिकाले तथा चरिणमा झुठो दोष लगाउने नियतले डर, त्रास देखाएर आपराधिक लाभ लिने सम्बन्धी कसुरमा हुने सजाय अपराध संहिताको दफा २५३ को उपदफा ३ मा गरिएको भन्दा संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (च) मा गरिएको सजाय बढी तोकिएको छ ।
साथै सोही ऐन बमोजिम अभियोगपत्र दायर भएमा अपराध संहिताको दफा ५ को आधारमा सोही ऐनको व्यवस्था जानु हुने गरी मार्गदर्शन निर्धारण गरिएको छ। यस्तो अपराध गरेको ठहर भए तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको विवरणअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा १४ वटा उजुरी दर्ता भएका छन् ।
यस्तो गतिविधि गर्न नहुने तथा कानुन विपरीतको कार्य भएकाले उजुरीमा उल्लेख गरिएका विवरण सही सावित भए दोषीलाई कैद र जरिवाना हुनेछ । छिटो धनी बन्ने लालसाले ठगी गरेर आर्थिक अपराध कर्म मार्फत पैसा कमाउने प्रवृत्ति बढ्दो छ। आर्थिक अपराधका अधिकांश घटनामा छिटो धनी बन्ने लालसाका कारण घटना भएको देखिन्छ। अशिक्षा, गरिबी र विपन्नताको कारणले समाजमा अपराध बढ्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन् । साथै कतिपय अवस्थामा पारिवारिक रिसइबीको कारण र आर्थिक लेनदेनका कारण अपराध बढ्दो छ।