काठमाडौ- आगामी १५ चैत देखि सुरु हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) को तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गते देखि हुन गइरहेको परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
चैत १५ गते बाट सुरु भई चैत २७ गते सम्म परीक्षा सकिने बोर्डको परीक्षा तालिका रहेको छ । यो वर्ष देशभरबाट ५ लाख ३ हजार भन्दा बढी विद्यार्थीले एसईई दिन परीक्षा फाराम भरेका बोर्डले जानकारी दिएको छ ।
बोर्डले परीक्षाको लागि प्रश्न पत्र देशभरका ७४ जिल्लामा पठाइसकेको छ । काठमाडौ उपत्यकाका ३ वटै जिल्लामा केही दिनमा पठाउने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन । ७४ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र पठाइएको उनले जानकारी दिएका छन ।
काठमाडौ उपत्यकाको हकमा २२/२३ वटा प्रहरी कार्यालयमा पठाउनु पर्ने भएकाले केही समय लागेको पौडेलले उनले जानकारी दिएका छन । उनले भने, ‘प्रश्नपत्र काठमाडौ बाहेकका जिल्ला पुर्याइ सकियो । काठमाडौका प्रहरी चौकी पुर्याउनु पर्छ । यहाँ १/२ दिनमा जान्छ । यहाँ २२/२३ ठाउँमा पठाउनु पर्छ । भित्र ट्रकमा पठाउन मिल्दैन ।
सानो गाडीमा पठाउनु पर्ने हुन्छ । त्यो बाहेक प्रश्नपत्र बाहेकको प्रदेश र जिल्लाले गर्ने काम पनि भइरहेको छ’ । जिल्ला प्रहरी कार्यालयमा पठाइएका प्रश्नपत्रहरू परीक्षा सुरु हुनु भन्दा केही समय अगाडि मात्रै सुरक्षा सहित सम्बन्धित परीक्षा केन्द्रमा पठाइने उनले जानकारी दिएका छन । त्यस्तै उत्तरपुस्तिका समेत सातै प्रदेशबाट पठाउने काम भइसकेको उनले जानकारी दिएका छन ।
प्रश्नपत्र बोर्डले पठाउने गरेको छ भने उत्तरपुस्तिका प्रदेश सरकारले पठाउने गरेको छ । त्यस्तै परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने खर्च समेत प्रदेश सरकारबाटै हुने परीक्षा नियन्त्रण पौडेलले जानकारी दिएका छन । उत्तरपुस्तिका पठाउने, परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन गर्न खर्च पठाउने काम पनि प्रदेश सरकारले गर्ने हो । यो वर्ष ५ लाख प्रश्नपत्र छापिएका छन् ।
परीक्षा फाराम भरेका सबै विद्यार्थीले परीक्षा दिन नआउने भन्दै बोर्डले ५ लाख मात्रै प्रश्नपत्र छापेको हो । प्रदेश सरकार अन्तर्गत रहेको सामाजिक सुरक्षा मन्त्रालयले परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन गर्दै आएको हो ।
केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षा व्यवस्था लगायतको कार्य प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिले गर्नेछ ।
केन्द्राध्यक्ष, निरीक्षकहरू नियुक्त गरेपछि उनीहरूले तालिम समेत प्रदान गर्ने गरिन्छ । त्यसका लागि परीक्षा हुनु भन्दा केही दिन अगाडि मात्रै तालिम दिने गरिन्छ ।