संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको गुनासो छ : सुदूरपश्चिमका मन्त्री भट्ट

कैलाली- सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार नदिएको गुनासो गरेका छन् । सञ्चारिका समूहले धनगढीमा लैङ्गिक समानता र सामाजिक समावेशिताको सवालमा आयोजित कार्यक्रममा मन्त्री भट्टले यस्तो गुनासो गरेका हुन् ।

‘सञ्चारको सम्पूणर् अधिकार प्रदेशलाई दिनु पर्ने हो त्यो अधिकार केन्द्रले दिएको छैन’ उनले भने, ‘संघीय मन्त्रीलाई तीन पटक भेटेर भनेको थिए । तर, उहाँबाट पनि समस्या सम्बोधन भएन ।’ उनले सङ्घले अधिकार नदिएको हुँदा प्रदेशमा कानुन बनाउन समस्या भएको जिकिर रहेका थिए । उनले तत्काल आम सञ्चार नीति र आमसञ्चार विधेयक प्रदेश सभामा टेबल हुने तयारीमा रहेको जनाकारी दिए ।

उनले पछिल्लो समय सञ्चार माध्धयमहरुको विकास भइरहेको भन्दै आम नागरिकहरूलाई जानकारी दिने सवालमा पत्रकारहरूको महत्त्वपूणर् भूमिका रहेको बताए । ‘पत्रकारितामा चुनौती थपिएका छन्, स्वच्छ पत्रकारिताको विकास हुन आवश्यक रहेको छ ’ उनले भने । उनले सरकार हलचल भइ रहेको भन्दै जतिबेला पनि मन्त्री पद जान सक्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय सदस्य मीन बमले प्रदेश सञ्चारमाध्यमहरूमा सङ्घीयताको अनुभव गर्न नपाएको बताए । सरकारले मिडियाको विषयमा चासो नदिएको समेत उनले भनाइ थियो । पत्रकार चाँदनी आचार्यले आफूले समाचार लेखेकै भरमा मुद्दा झेलिरहेको बताइन् । पत्रकार सुरक्षाको विषयमा सरकार गम्भीर रहनुमा उनले जोड दिइन् ।

पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष अर्जुन शाहले लैङ्गिक समानता र सामाजिक समावेशीको सवाललाई प्राथमिकता दिनु पर्ने बताए । ‘ज्ञान सीप बढाउन तालिमले भूमिका खेल्छ । भूइँमान्छेका सवालहरू पनि अब लेख्नुपर्छ ’ उनले भने, ‘प्रदेश सरकारले सञ्चारमैत्री नीति बनाउन आवश्यक छ । ’

पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीले पत्रकार महिलाहरूलाई पेशामै टिकाउनै समस्या भएको बताए । संख्या घट्दै गइरहेको भन्दै त्यसका लागि सरकारले नीति बनाउन आवश्यक रहेको बताएका थिए । पेसागत रुपमा पत्रकारिता क्षेत्र चुनौतीपूणर् रहेको भन्दै उनले प्रदेश सरकारले स्पष्ट नीति बनाउन आवश्यक रहेको टिप्पणी गरेका थिए ।

पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले आफूहरूले पटक पटक जिल्लास्तरमा र प्रदेशस्तरमा महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम आयोजना गरिरहेको बताए । अहिले सबै पत्रकारहरूलाई चुनौती रहेको भन्दै उनले रहरले भन्दा पनि क्षमता अभिवृद्धि सहित पत्रकारिता गर्न सुझाव दिएका थिए । ‘एक जना महिला पत्रकारले पुरै रेडियो चलाइरहेका छन् तर, उनीहरुले पैसा नपाउने अवस्था सृजना भएको छ’ रावलले कार्यक्रममा भने ।

उनले सुदूरपश्चिममा आमसञ्चार नीति लागू गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुख प्रशिक्षक समेत रहेकी बरिष्ठ पत्रकार बबिता बस्नेतले सबै विषय बस्तुहरूमा लैङ्गिक समानता र सामाजिक समावेशीको सवाललाई प्राथमिकतामा राख्न सुझाव दिइन । सञ्चारिका समूहकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवाले सबै क्षेत्रमा लैङ्गिक समानता र सामाजिक समावेशिता हुन आवश्यक रहेको बताएकी थिइन् । दुई दिन सम्म भएको तालिममा सुदूरपश्चिम प्रदेशका महिला तथा पुरुष २५ जना पत्रकारहरूको उपस्थिति रहेको थियो ।

Loading...