कैलालीको टीकापुर अस्पतालमा ४ वर्षमा २ हजार भन्दा बढी महिलाले शल्यक्रिया

टीकापुर- कैलालीको टीकापुर अस्पतालमा ४ वर्षमा २ हजार भन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त संख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो ।

अस्पतालका स्त्री रोग विशेषज्ञ डा. सञ्जय कुमार दासले सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिएका हुन् । सो अवधिमा उनले जटिलता रहेका ३ हजार बढीलाई नर्मल सुत्केरी सेवा समेत दिएका छन् ।

Navadurga sun
Godawari sandesh

टीकापुर अस्पतालमा हरेक महिना झण्डै २ सयले सुत्केरी सेवा लिने गरेका छन् । सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा. दास बताउछन् । यस बाहेक अस्पतालमा सातामा ३/४ महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ । यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ । ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म ८ जनाको शल्यक्रिया गरिएको डा. दासले बताए ।

Dadeldhura hospital

टीकापुर अस्पतालमा गर्भवती, पाठेघर सम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन् । ‘कहिले काहीँ एकै दिन सात वटासम्म पनि शल्यक्रिया सेवा दिइएको छ’, उनले भने, ‘सुत्केरी सेवाका साथै पाठेघरको समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा सङ्क्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाको उपचार गर्दै आएका छौँ ।’

अस्पतालमा स्त्री रोगको उपचार सहजै हुन थालेपछि बिरामीलाई राहत मिलेको छ । डा. दासले टीकापुर अस्पतालमा सेवा दिँदा विपन्न वर्गले राहत पाएको स्थानीय वासु थरुनीले बताए । ‘मेरो बुहारीको अवस्था खतरामा थियो, बाहिर लैजान हामीसँग रकम थिएन, टीकापुर अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मियो, उनले भने, ‘धेरै गरिबको रकम बचत भएको छ ।’ पहिला उपचार नपाएर ज्यान गुमाउनु पर्ने तथा बाहिर लैजानु पर्ने बाध्यता अब हटेको उनले बताए ।

टीकापुर नगरपालिकाले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि यहाँका नागरिकले न्यून खर्चमै विशेषज्ञ चिकित्सकको सेवा स्थानीय स्तरमै पाउन थालेका हुन् । स्त्री रोग विशेषज्ञ डा. दासले दैनिक ७० देखि ८० महिलाको उपचार गर्दै आएका छन् । ३ दिन अघि मात्रै बौनियाबाट रेफर भएर आएको जटिल खालको गर्भवतीको शल्यक्रिया गरेर टीकापुर अस्पतालले आमा र बच्चालाई बचाउन सफल भएको छ ।

‘शिशुको नाभी र एउटा खुट्टा बाहिर निस्किएको लामो समयपछि अस्पताल ल्याइएको थियो, यस्ता घटनामा आमा र शिशु दुवैलाई जोखिम हुन्छ’, डा. उनले भने, ‘हामीले दुवैलाई बचाउन सक्यौँ ।’ अस्पतालमा जोशीपुर, भजनी, जानकी र बर्दियाका केही पालिकाबाट जटिलता भएका सुत्केरी सेवा लिन आउने गरेका छन् ।

उपचार सहज रुपमा पाइन थालेपछि अस्पतालमा बिरामीको चाप बढेपछि श्ययाको अभाव हुन थालेको अस्पतालको भनाइ छ । स्थानीय भुवनेश्वर अधिकारीले टीकापुर अस्पतालमा डाक्टर दासले पुर्‍याएको योगदानलाई सरहाना गर्नैपर्छ भने । ‘यत्रो संख्यामा शल्यक्रिया गर्नु सामान्य कुरा होइन, नगरपालिकाले डाक्टर उपलब्ध गराएर पुर्‍याएको योगदान पनि सकारात्मक छ’, अधिकारीले भने, ‘स्वास्थ्य क्षेत्रमा नागरिक पनि सचेत हुँदै गएका छन् ।’ रासस

Loading...