फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्यका लागि दिनरात नभनेर लागेको छौँ : नगर प्रमुख भट्ट
भौतिक संरचना निर्माणको कार्य लगभग ९० प्रतिशत पुरा
अत्तरिया- फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्यका लागि आफू निर्वाचित भएर आए लगत्तै दिनरान नभनेर लागेको कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले बताएका छन् ।
चौकीडाँडा सामुदायिक वनमा निर्माण भईरहेको केन्द्रका लागि काचा रुख काट्ने देखि अहिले सम्म निरन्तर लागेको बुधबार फोहोर ब्यावस्थापन पोखरीमा Geomembrane Sheet बिछ्याउने कार्यक्रमको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् ।
यसलाई निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याई सकेपछि फोहोरको बर्गीकरण गरेर नगरलाई सफा स्वच्छ गर्न सफल हुने उनले बताए । ‘पुनः प्रयोग हुने फोहोर देखि दिसाजन्य बस्तुलाई व्यवस्थापन गर्ने छौँ’, उनले भने । ‘निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । यस आर्थिक बर्ष भित्र नै सञ्चालनमा ल्याउने छौँ ।’
एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा क्षेत्रीय शहरी विकास आयोजना धनगढी मार्फत निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रका लागि चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ ।
कैलालीको गोदावरी नगरपालिकाको फोहोर मैला व्यवस्थापनका लागि वडा नम्बर ३ मा रहेको चौकीडाँडा सामुदायीक वन भित्रको क्षेत्रमा निर्माण कार्य भै रहेको छ । जसमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनिया कम्पनी संग ४५ करोड ७४ लाख बढी रकम (भ्याट बाहेक) मा ठेक्का सम्झौता भई काम अन्तिम चरणमा पुगेको छ ।
धमाधम रुपमा भइरहेको भौतिक संरचना निर्माणको कार्य करिब अन्तिम चरणमा पुगिसकेको प्रोजेक्ट इन्जिनियर अशोक पाण्डेयले बताए । उनले भौतिक संरचना निर्माणको कार्य लगभग ९० प्रतिशत सकिईसकेको र अव आउने साउन भित्र भौतिक संरचना निर्माणको कार्य सम्पन्न हुने दावी गरे ।फोहोर व्यवस्थापन केन्द्रमा कम्पाउण्ड, फोहोर फाल्ने ब्लक, फोहोर प्रशोधन यन्त्र लगायतका संरचनाहरु निर्माण सम्पन्न भईसकेको छ । फोहोरमैला व्यवस्थापन केन्द्रमा घरबाट फोहोर संकलन गर्ने देखि लिएर डिस्पोजल गर्ने, प्युरिफाई गर्ने र कुहिने फोहोरबाट मल बनाइने बताइएको छ ।
फोहोरमैला व्यवस्थापन केन्द्रबाट प्राङ्गारीक मल उत्पादन गरिने छ । परियोजनालाई ५० बर्ष सम्म प्रयोग गर्न मिल्ने गरि डिजाईन गरिएको छ । इन्जिनीयर पाण्डेयका अनुसार एक दिनको ठोसजन्य १३ टन र १३ घनमिटर दिसाजन्य फोहोर प्रोशोधन गर्ने क्षमता रहेको छ । फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माणका लागि ५१ करोड ठेक्का भएको हो । यसमा ७५ प्रतिसत एडिवीको ऋण अनुदान सहयोग र २५ प्रतिशत नेपाल सरकारले सहयोग रहेको छ । सम्झौता अनुसार निर्माणको काम सेप्टेम्बर २०२४ मा सकिनु पर्नेछ ।
२ बर्षमा निर्माण सक्ने गरी सम्झौता गरिएको फोहरमैला व्यवस्थापन केन्द्रको निर्माण सकिएपछि पनि ३ बर्ष भने निर्माण कम्पनीले नै संचालन गर्ने छ । ‘निर्माणको काम सकिएपछि ३ बर्ष अपरेशन मेन्टेनेन्सको काम हुने छ’ इन्जिनियर पाण्डेयले भने ‘उक्त कार्य निर्माण कम्पनिले नै गर्ने छ र त्यसपछि भने नगरपालिकालार्य हस्तान्तरण हुनेछ ।’
नगरपालिकालाई हस्तान्तरण गरेको १ बर्ष सम्म पनि मर्मत सम्भारको जिम्मेवारी निर्माण कम्पनीकै हुने छ । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा हाल एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढेको हो ।
फोहोर प्रशोधन केन्द्र निर्माण भएपछि कुहिने र नकुहिने फोहोरलाई छुट्याई मेसिनको सहायताले प्रशोधन गरी कम्पोष्ट मल र बायोग्यास उत्पादन गर्नका लागि पक्की संरचना निर्माण गरिने बताइएको छ । र यसै फोहरबाट नै प्राङ्गारीक मल उत्पादन गरिने जनाइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणपछि गोदावरी नगरपालिका क्षेत्रभित्र रोजगारीमा वृद्धिसँगै नगरपालिकाको राजस्वमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडी बढेको छ । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका गरी चारवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको हो ।