काठमाडौं– आइतबार पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार ब्ल्याक बक्स सुरक्षित रुपमै भेटिएको छ। आइतबार खोजी तथा उद्धारको क्रममा विमानको पछिल्लो भाग भेटिएको थियो। सोमबार बिहानैदेखि खोजी तथा उद्धार पुनस् सुरु गरिएकोमा विमानको पछिल्लो भाग पनि फेला परेको हो।
विमानको पछाडिको भागमा राखिने एक प्रकारको रेकर्डर नै ब्ल्याक बक्स हो। ब्ल्याक बक्समा विमान चालक तथा एयर ट्राफिक कन्ट्रोलबीच भएको कुराकानी रेकर्ड हुन्छ। जहाज दुर्घटना हुनु अगाडिसम्मको आवाज रेकर्ड हुने भएकाले ब्ल्याक बक्सको सहायताले जहाज दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ।
यती एयरलाइन्सको ९ एन–एएनसी एटीआर–७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो विमानस्थल र नयाँ विमानस्थलको बीचमा रहेको सेती किनारमा दुर्घटनामा परेको थियो। आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको उक्त विमान उडान भरेको २२ मिनेटमै दुर्घटनामा परेको हो।
पोखरा विमानस्थलमा अवतरणको लागि अनुमति पाएको र अवतरणको क्रममा रहेको सो विमान सेती नदीको खोँचमा खसेको थियो। विमानमा ७२ जना सवार थिए। जसमा ६८ यात्रु र ४ जना चालक दलका सदस्य थिए।
यात्रुहरुमा ५३ जना नेपाली थिए। बाँकी विदेशी थिए। विदेशी यात्रुहरुमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्डका १ जना, अस्ट्रेलियाका १ जना, अर्जेन्टिनाका १ जना, फ्रान्सका १ जना थिए। जसमा महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना थिए।
