काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेन्द्र साह पहिलोपटक विदेश भ्रमणमा निस्किएका छन् । उनी श्रीमती सबिना काफ्ले र अन्य साथीहरूसहित तीन दिनअघि (बिहीबार) इन्डोनेसियाको जकार्ता पुगेका हुन् ।
मेयर साहको सचिवालय स्रोतका अनुसार उनी जकार्तामा भइरहेको ‘पब्जी मोबाइल विश्व च्याम्पियनसिप’ हेर्न अनौपचारिक रूपमा त्यहाँ पुगेका छन् । उनको भ्रमण प्रक्रिया र खर्च आयोजक टोलीले नै व्यहोरेको मेयर साहको सचिवालयले जनाएको छ । पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनलमा दुईवटा नेपाली टोली पुगेका थिए ।
उनीहरूलाई हौसला दिन र पारिवारिक घुमघामका लागि उनी त्यहाँ पुगेका हुन् । उनले आफ्नो भ्रमणबारे महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मौखिक जानकारी मात्रै गराएका छन् ।
नितान्त व्यक्तिगत भ्रमण भन्दै उनले महानगर कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई औपचारिक जानकारी नगराएको मेयर साहको सचिवालयले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी हुन जानुअघि टोलीलाई मेयर साहले त्रिभुवन विमानस्थलमा बिदाइसमेत गरेका थिए ।
